काठमाडौं। हाल गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी काठमाडौंमा छन्।
सोमबार काठमाडौं आएका अधिकारीले मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन्। सो भेटमा मन्त्रालय भागबण्डा र क–कसलाई मन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ।
मुख्यमन्त्री अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दैछन्। सो भेटमा उनले मन्त्रालय भागबण्डा र क–कसलाई मन्त्री बनाउने विषयमा छलफल गर्नेछन्।
स्रोतका अनुसार अधिकारीले छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। अधिकारीले गण्डकीमा एमालेले चार, माओवादीले दुई र राप्रपाले एक मन्त्रालय पाउने गरी छलफल अगाडि बढाएका छन्।
हाल गण्डकीमा एमालेबाट मुख्यमन्त्री अधिकारी र एक जना विनाविभागीय मन्त्री बनिसकेका छन्। अब एमालेबाट दुई जना सरकारमा जाने छन्।
नवलपुरका रोशन गाहा थापा, कास्कीका भीम कार्की, पर्वतका भक्त कुँवर र तनहुँका श्यामराज महतको नाम चर्चामा छ। एमालेमा मन्त्रीका आकांक्षी धेरै भएपछि टुंगो लगाउन समस्या भएको छ।
यस अघि नै राप्रपाबाट पन्चराम गुरुङ्ग र माओवादी केन्द्रबाट संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमानले विनाविभागीय मन्त्रीको सपथग्रहण गरिसकेका छन्।
म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई मन्त्री बन्दैछन्।
गत पुस २५ गते मुख्यमन्त्री अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्याइएको छ।