काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्।
आज (सोमबार) वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिए।
उनले निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिए। उनले भने, ‘कुन जहाज कति बेला उडे? कहाँ रोकिए? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न। विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्।’
मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए।
उनले अगाडि थपे, ‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन। नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधैँ साथ दिन्छु।’