पोखरा। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ।
सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए।
उनका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक बर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ।
महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरेर जुटाउने उनले बताए।
यसैबीच, पत्रकार महासंघ गण्डकीले सोमबार नै स्वर्गीय पत्रकार पौडेलको निवासमा पुगेर श्रद्धाञ्जली सभा गरेको छ।
राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट २ दशकभन्दा अघि पत्रकारिता सुरु गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई पत्रकारिता गरेका थिए। पछिल्लो समय उनी पोखरा हटलाइन दैनिकको प्रकाशक÷सम्पादक थिए।
स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकारका साथै त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भएका थिए।
माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा ३७ वर्षीय पत्रकार पौडेलसहित ७२ जनाको मृत्यु भएको थियो।