पोखरा । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर दम्पत्तिको सामूहिक दाहसंस्कार गरिएको छ ।
दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सीघाटमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडौँबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा। सुशील श्रेष्ठ, उनकी श्रीमती डा। सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।
सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ ।तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए ।