काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुईजना तामाङलाई मन्त्री बनाउने घोषणा गरेका छन् ।२८५९औं राष्ट्रिय सोनाम ल्होसारको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले अबको केही दिनमै एकीकृत माओवादी केन्द्रका तर्फबाट एक महिला र एक पुरुष गरी दुई जना तामाङ समुदायकालाई मन्त्री बनाउने घोषणा गरे ।
प्रधानमन्त्री दाहालले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाइँ गरेको दाबी गरे । नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले नेपालमा सबै जातिको स्थान बराबर भएकाले नेपाल टेलिभिजनबाट यही माघ १५ गतेबाट तामाङ भाषामा समाचार प्रसारण हुने जानकारी दिँदै बजेट निकास गरिसकेको उल्लेख गरे ।
उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेकोले यहाँको संस्कृति र सभ्यता विश्वभर वैभवशाली सहित सोनाम ल्होसार विदेशीले समेत मनाउने गरेकामा खुसी व्यक्त गरे । तर उनले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरे ।
विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको दाबी गरे । उनले अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको दाबी पनि गरे ।
उनले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी रहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए ।