काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सकिएको छ।
कांग्रेसको संस्थापनइतर पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको थियो।
बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषय, पार्टीभित्रको आन्तरिक राजनीति तथा राष्ट्रिय राजनीति, माघ १५ गतेदेखि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबारे छलफल भएको नेताहरूले बताएका छन्।
बैठकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएर गल्ती गरिएको बताए। कोइरालाले विश्वासको मत दिन नहुनेबारे आफूले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कुरा राखे पनि सुनुवाइ नभएको गुनासो गरे।
बैठकमा संसदीय दलको चुनावमा आफ्नै पक्षको मत किन एकीकृत हुन सकेन ? भन्ने समीक्षा गर्नुपर्ने माग भएको छ।
उक्त भेलामा कांग्रेसको १५ औं महाधिवेशनको तयारी सुरू गर्नुपर्ने प्रस्ताव उपसभापति धनराज गुरूङले गरे। उनले शेखरलाई सभापतिका रूपमा अघि सारेर महाधिवेशन तयारी सुरू गर्नुपर्ने बताए।
भेलामा उक्त पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापति भेलामा उपस्थित थिए।
उनीहरूले सभापति शेरबहादुर देउवाले चुनावअघिको गठबन्धनलाई चुनावपछि निरन्तरता दिन नसकेको आरोप लगाए।