काठमाडौं। नेपाली कांग्रेसले प्रमुख विपक्षी दल आफू भएको र त्यसवापत पाउनुपर्ने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ।
निवेदनमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबीका साथै त्यसवापत पाउनुपर्ने सेवा सुविधा माग गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
संविधानविदहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख विपक्षी दल नरहेको दाबी गरिरहेका छन् भने कांग्रेसका नेताहरु आफ्नो पार्टीले मत मात्रै दिएको तर सरकारमा नगएका कारण आफूहरु नै प्रमुख विपक्षी दल रहेको दाबी गर्दै आएका छन्।
संसदमा नेपाल मजदुर किसान पार्टीले पनि आफूलाई प्रमुख विपक्षी दल घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। उसले पनि विपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ।
संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्छ। प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत्त मासिक २५ हजार, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, सवारीका लागि इन्धन सुविधा, मोबिल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमालगायतका कैयौं सुविधा प्राप्त हुन्छ।
विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक÷एक जना दिइन्छ। अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्छ।