काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ।
अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा रहेको कार्यदलको शुक्रवार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको हो।
कार्यदल सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रम तयार भएको र भोलि शीर्ष नेताहरुलाई बुझाइने जानकारी दिए। त्यसपछि कार्यक्रम सार्वजनिक गरिनेछ।
उनले न्यूनतम साझा कार्यक्रममा सबै दलको एजेण्डालाई समेट्ने प्रयास गरिएको तथा जनतालाई खुशी बनाउनेगरी नै कार्यक्रम आउने बताए।
बैठकपछि उनले पत्रकारहरूसँग भने, ‘शीर्ष नेताहरूले अध्ययन गरेर आवश्यक थपघट गरेर पारित गरेपछि सार्वजनिक गरिन्छ। सुशासन, सेवा प्रवाहलगायत विषयमा केन्द्रित रहेर न्यूनतम साझा कार्यक्रम आउँछ। सबै दलले उठान गरेका विषयबस्तु समेट्ने कोसिस भएको छ।’
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलमा नेकपा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जनता समाजवादी पार्टी नेपालबाट रकम चेमजोङ सदस्य छन्।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो।