चितवन। भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरी अस्पतालका सुरक्षा गार्ड कृष्ण राई पक्राउ परेका छन्।
चितवनका प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका तनहुँ भानु नगरपालिका २ घर भई चितवनको भरतपुर १ बस्ने वर्ष ३७ को सञ्जीवबहादुर रायमाझीको नाडीमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो।
गत आइतबार नारायणगढ मुग्लिन सडक खण्डको भरतपुुर २९ केराबारी नजिकै ना ५६ ख ३३१२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका बा.०३–००३ प ६५७४ नम्बरको मोटरसाइकल चालक रायमाझी घाइते भई भरतपुर अस्पतालमा उपचाररत थिए।
उनको उपचारको क्रममा मृत्यु भएको र मृत्युपश्चात् शवगृहमा रहेको शवमा उनको हातको ब्रास्लेट नदेखेपछि खोजी शुरु भएको थियो।
पक्राउ परेका सुरक्षा गार्ड खोटाङ ऐंसेलुखर्क गाउँपालिका ६ घर भई हाल भरतपुर ७ बस्दै आएका थिए। पक्राउ परेका निजलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।