काठमाडौं। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए।
उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए। प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा असोज २३ गते राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए। उनले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बैठकले कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र शव ल्याउनका लागि आर्थिक प्रवन्ध गर्ने निर्णय गरेको छ।
त्यस्तै, अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ।