काठमाडौँ । हुस्सु र कुहिरोका कारण आज पनि देशभरको हवाई सेवा अवरूद्ध भएको छ।पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ। हुस्सु कुहिरोकै कारण भिजिभिलिटी कम भएकाले कुनै पनि आन्तरिक उडान भएका छैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले सबै आन्तरिक उडान प्रभावित भएको हो।
आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल कार्यालयका अनुसार क्रमिम रूपमा मौसम खुलिरहेकाले उडानहरू केही समयपछि सुरू हुने क्रममा रहेको छ।बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा पनि लागेको हुस्सु क्रमश सफा हुँदैछ।
देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।