काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिए ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।
विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन् ।