काठमाडौँ । २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौं महानगरपालिकामा गर्ने निर्णय भएको छ। गत वर्ष ललितपुर र त्यस अघिल्लो वर्ष भक्तपुरमा समारोह आयोजना गरिएको थियो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो।
मूल समारोह समितिको सभापति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह रहनेछन् भने प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गर्ने निर्णय भएको छ।
प्रधानमन्त्रीको समय लिनका लागि बैठकले गृहमन्त्रीलाई जिम्मेवारी दिएको छ। बैठकमा प्रस्तावित यसपालिको नारामाथि आएका सुझावका आधारमा गृह मन्त्रालयले अन्तिम नारा तय गर्ने भएको छ। बैठकमा ३ वटा नारा प्रस्तावित गरिएको थियो।
बैठकले यी नै नाराका वरिपरि रहेर सुझाव दिन सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ। विस १९९० माघ २ मा नेपालमा गएको महाभूकम्पको सम्झनामा ०५५ देखि प्रत्येक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।