चितवन । जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार एक हजार आठ सय ११ वयस्क र नौ सय ३१ पाठापाठी बङ्गुर छन् । यस्तै बिरामी परेकामध्ये एक सय २८ वयस्क र ५९ पाठापाठी रहेको कार्यालयले जनाएको छ । अफ्रिकन स्वाइन फिवर घरपालुवा सुङ्गुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक सरुवा रोग हो ।
यो रोग नेपालमा पहिलो पटक विसं २०७९ साल जेठ २ गते पुष्टि भएको हो । रोग सङ्क्रमित सुङ्गुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिए ।