काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिएका छन् ।
राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्न्धबमा उनले आज आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीलाई यस्तो निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धताका लागि बैठकको आयोजना गरिएको बताउँदै सबैलाई आ–आफ्नो परिभाषित जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
आजैदेखि दैनिकरुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउँदै उनले हालसम्मको राजस्वको न्यूनतम पूरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिए ।
उनले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानूनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिए।
उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन निर्देशन दिए।
त्यस्तै, कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिए। उनले सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मूलमन्त्र मानी कार्य गर्नसमेत निर्देशन दिए ।