काठमाडौँ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन जना चालकविरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको फर्पिङ, नागढुंगा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारीसाधन चलाउने तीन चालकलाई पक्राउ गरी आइतवार अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।
मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना १ ज ६६२४ नम्बरको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुंगाबाट पक्राउ परेका ना २ ख ८२१५ नम्बरका ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट पक्राउ परेका ना ४ ख ५१२ नम्बरको टिप्परका चालक २४ वर्षीय नवीन मिजार रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापसे सेवन गरी सवारी साधन चलाउने र ट्राफिकलाई अभद्र व्यवहार गरेकाले उनीहरूलाई मुद्दा चलाइएको जानकारी दिए । पक्राउ परेकामध्ये रुम्बालाई प्रहरी वृत्त कीर्तिपुरबाट ४ दिनको म्याद थप, लोधरलाई प्रहरी वृत्त थानकोटबाट ७ दिनको म्याद थप र मिजारलाई प्रहरी वृत्त जगातीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरिएको प्रवक्ता भट्टले बताए ।पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई तीव्रता समेत दिएको छ ।