झापा । झापाको शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जंगली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आइतवार मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिवार राति छावा (बच्चा) सहित आएका ४ वटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो ।
हात्तीले भत्काएको घरको छतले च्यापिँदा भण्डारी दम्पती घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकोमा कृष्णमायाको आइतवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापामा भारतबाट आउने र रैथाने जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ । गत १ महिनामा २ जनाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । यस अवधिमा घाइते हुनेको संख्या ५ पुगेको छ ।
यसअघि बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको थियो । झापाका पन्धै्र पालिका जंगली हात्तीबाट प्रभावित छन् । हात्तीको आक्रमणमा गत मंसिर २५ गते हल्दिबारी गाउँपालिका–४ की ५५ वर्षीया गौरादेवी पौडेल, ६५ वर्षीय नगेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र २८ वर्षीय चेतन पौडेल घाइते भएका थिए ।