काठमाडौं। कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा झापाका एक पुरुषको मृत्यु भएको छ।
आगलागीमा झापा बिर्तामोड–१ का ४० वर्षीय निराकर पाण्डेको मुत्यु भएको हो। उनी बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन्।
अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले जानकारी दिएका छन्।
यसअघि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका पाण्डे एक महिनाअघि फेरि त्यहाँ गएका थिए।
ज्यान जोगाउन १२ औं तलाबाट हाम फाले, घरपरिवारसँग कुरा गरे
उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए।
भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए। परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए।
उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’
बिर्तामोडमा रहेका हजुरबुबा-हजुरआमा र मामाघरतर्फका हजुरबा-हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा-मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा- राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’
घटना
उक्त आगलागीमा पाण्डेसहित २४ जनाको मृत्यु भएको छ।
पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो। थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए।
उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरूसमेत देखिएको छ।