धनगढी । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।
साहित्यकार जगदीश ओझाका अनुसार यस दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ ।
अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनको भनाइ छ । उनले सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको बताए ।
सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने उनले बताए । सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण शुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ । साहित्यकार डम्बर शर्मा बडूले पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताए ।
सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा लिइन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।