काठमाडौँ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दाबी गरेको छ ।प्रदेश संरचना खारेजीको माग राख्दै आएको (राप्रपा)ले सरकार गठन गर्न आफू निर्णायक भएपछि मुख्यमन्त्रीमा दाबी गरेको हो ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाका अनुसार सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धनमा छलफल भइरहेको जनाएको छ ।
केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि वाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्पहरू देखिएका छन् । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता यहाँ रहेको छ । हालको अवस्था यस प्रदेशको सत्ताको साँचो राप्रपासँग रहेको छ ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ ।प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् ।
अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसाग तालमेल गरे कांग्रेसको पनि सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ । कांग्रेसलाई राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।