काठमाडौँ । रूपन्देही–१ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका घनश्याम भुसालले आफू कुनै पनि पार्टीमा नजाने बताएका छन् ।
बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घनश्याम भुसाल आफ्नो पार्टीमा प्रवेश गर्न लागेको बताएका थिए । नेपालको उक्त भनाइको खण्डन गर्दै भुसालले आफू कुनै पनि पार्टीमा प्रवेश गर्न नलागेको प्रष्ट पारेका हुन् ।
बिहीबार पार्टीको जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरूसँगको जुम मिटिङलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न तयार रहेको,भीम रावलले पनि भोलि बसौँ भनेको दाबी गरेका थिए ।
एमालेले टिकट नदिएपछि भुसालले मंसिर ४ को संघीय निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी एमलेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।