काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार गरेको भेटमा अर्थमन्त्री पौडेलले यस्तो भनाइ राखेका हुन् ।
उनले अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल शुरु गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तीय अवस्थाबारे छलफल गरेको थियो ।अर्थमन्त्री पौडलले चेम्बरले उठाएको माग सम्बन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले बताए ।
अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट बिभिन्न ८ बुँदामा सुझावसमेत दिए । पुँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालुपुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगन लगायतका विषयमा चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
भन्सारको सहजीकरण गरेर राजश्वको दायरा फराकिलो बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले बस्तुहरुको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए ।अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न समेत नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे ।
दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अङ्कको ब्याजदर कायम गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।राष्ट्र बैंकले ल्याएको चालुपुँजी कर्जासम्बन्धी मार्गनिर्देशन कार्यान्वयन गर्न निजी असमर्थ रहेकाले तत्काल स्थगन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।