काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ हुँदैछ।
बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ।
लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो। पेसीमा आजै बहस भई आदेश हुने सम्भावना रहेको छ।
त्यसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ।
गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।
यस्तै, इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा दुई पटक बलात्कार गरेको आरोप लागेको छ।