काठमाडौं। महान्यायाधिवक्तामा नियुक्त भएका दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छन्।
पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।
शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेताहरू सहभागी थिए।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार नियुक्त गरेकी थिइन्। नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
अधिवक्ता पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन्।
पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन्। माओवादीसँग निकट रहेर लामो समयदेखि सक्रिय पोखरेलले पहिलो पटक सरकारको तर्फबाट महत्वपूर्ण जिम्मेवारी पाएका हुन्। पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको भूमिकामा थिए।
यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्मबहादुर खाती थिए। उनले सोमबार पदबाट राजीनामा दिएका थिए।