काठमाडौं। घरेलु टोली केन्याले दोस्रो टि–२० खेलमा नेपाललाई १ सय ३३ रनको लक्ष्य दिएको छ।
नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो।
केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५, निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
केन्यालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए। त्यस्तै, करण केसीले २ र पवन सरार्फले १ विकेट लिए।
५ टि२० आईको श्रृखंलामा नेपाल १–० ले अगाडि रहेको छ। यसअघि बिहीबार भएको पहिलो टि–२० खेलमा केन्याले नेपाललाई १ सय ३१ रनको लक्ष्य दिएको छ। उक्त खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो।
नेपाल र केन्याबीच तेस्रो टी–२० भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यसपछि एक दिवसीय खेल हुनेछ।