काठमाडौँ । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दैछ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ । भिसा समयमै नआउँदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए। केही खेलाडी आज मात्रै त्यहाँ पुग्नेछन्।
मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन्।
दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एक दिवसीय खेल खेल्नेछ ।
नेपाल र केन्याबिछ पहिलो पटक टी -२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ ।
सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्द नेपालले ६ विकेटको जित निकालेको थियो ।