कैलालीको धनगढीमा जारी टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’मा शनिबार भएका दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा बलरहरू चम्किँदा महेन्द्रनगर क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए)लाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो ।
धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एकसय १४ रनको सामान्य विजयी लक्ष्यसहित पाएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका बलरसामु २० ओभर पूरै खेलेर ८४ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु रिजालले ३१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।
धनगढी क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्न महेन्द्रनगरका राहुल भण्डारीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए । हेमन्तधामीले २ विकेट लिए ।त्यसअघि धनगढी क्रिकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर १ सय १३ रनमै समेटिएको थियो । उसका लागि आयुष्मान बमले २५ र हेमन्त धामीले २२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन ।
बलिङतर्फ हेमन्तले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १८ रन खर्चिएर महत्त्वपूर्ण ६ विकेट लिए । खेलको प्लेयर अफदीम्याच राहुल भण्डारी चुनिए ।शनिबारको दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । १८० रन पछ्याउँदै जवाफी ब्याटिङ थालेको कैलाली जिल्ला क्रिकेट क्लबले ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो।
उसका लागि दीपक टमाटाले ४१ र दिनेश ओडले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ लिटल फ्लावरका दीपक बोहराले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । कौशल रूपाखेतीले २ विकेट लिए ।
त्यसअघि लिटल फ्लावरका लागि प्रकाश जैशीले ४ छक्का र ३ चौकाको मद्दतले २८ बलमा ४८ र कृष्ण कार्कीले ६ चौका र १ छक्काको मद्दतले २४ बलमा ४२ रनको अविजित पारी खेले । ६ विकेट गुमिसेकेको अवस्थामा उनीहरूले अन्तिम ४१ बलमा ८६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । उसका मनिस थापाले २६ र दीपक बोहराले २२ रन बनाए ।
बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका वीरेन्द्रनाथले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रकाश जैशी चुनिए । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।