वालिङ नगरपालिका–१४ अर्खलाबासमा मतदाता बोकेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका रहेका छन्। स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार घाइते हुनेमा वालिङ १४ पञ्चमूल अर्खलबास बस्ने वर्ष नखुलेकी बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन्।
उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । सबैलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको छ।
मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका एकै गाउँका धेरैको सङ्ख्यामा मृत्यु भएपछि अहिले गाउँ नै पूरै शोकमा डुबेको छ।