इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अोभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन जोडेको थियो । जवाफमा सुस्त सुरुवात गरेको लखनउ लगातार विकेट गुमाउँदा जम्मा ८२ रन जोड्दै १४ औं ओभरमा अलआउट हुन पुग्यो ।
लखनउका लागि जम्मा तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सके । अोपनर क्विन्टन डे कक ११ रन जोड्दै पहिलो विकेटका रुपमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा पसेका दीपक हुडाले २७ रनको योगदान दिए । दीपक १४ अौं अोभरमा नवौं विकेटका रुपमा आउट हुँदा अर्को एन्डबाट लगातार ८ विकेट खसेको थियो ।
कप्तान केएल राहुल ८, करण शर्मा ४, क्रुनाल पान्ड्या ५ र आयुष बदोनी ८ रनमा आउट भए । अलराउन्डर मार्कस स्टोइनिसले २ र जेसन होल्डरले १ रन मात्र जोड्न सके । मोहसिन खानले १ रन लिँदा अन्तिम ब्याटर आभेश खानले २ छक्काको मदतले १२ रन जोडे ।
गुजरातका लागि अफगानी स्पिनर राशिद खानले ४ विकेट लिए । साइ किशोर र यश दयालले २/२ तथा मोहमद शामीले १ विकेट लिए ।
यता गुजरातलाई ब्याटिङमा शुभका गिलको अर्धशतकले उकासेको थियो । अोपनर शुभमनले अन्तिमसम्म नटआउट रहँदै ४९ बलमा ६३ रनको योगदान दिए । उनले ७ चौका प्रहार गरे । अर्का अोपनर ऋद्धिमान शाह ५ रनमा आउट भएका थिए ।
म्याथ्यु वेड १०, हार्दिक पान्ड्या ११ र डेविड मिलर २६ ले शुभमनलाई साथ दिएका थिए । राहुल टेवाटियाले अन्त्यतिर १६ बलमा २४ रन जोड्ने क्रममा ४ चौका प्रहार गरे । लखनउका आभेशले २ तथा मोहसिन खान र होल्डरले १/१ विकेट लिए ।
यस जितसँगै गुजरात १२ खेलमा १८ अंक जोड्दै लखनउलाई उछिन्न सफल भयो । दोस्रो स्थानमा रहेको लखनउको १६ अंक छ ।