नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्।
धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
देउवाले सुदूरपश्चिमका लागि थुप्रै काम गरेको बताए। उनले भने, ‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो। सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ। सबै ठाउँमा मैले काम पनि गरेको छु।’ उनले भारत भएर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको बताए।
उनले धनगढी–दिपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने प्रतिवद्धता जनाए। विकासको लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउँदै उनले सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे।
नेकपा एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसदमाथि आक्रमण गर्ने दाबी गरे। ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने बताए।