तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले निर्धारित ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनायो। तादिवान्से मारुमानीले सर्वाधिक ५० रन, कुद्जाई माउन्जेले ३९, रोय काया ३६, टोनी मुन्योङगाले २४, लुक जोंग्वेले १९ रन बनाए ।
डेब्यु खेलमा नेपालका किशोर महतोले ५, सोमपाल कामीले २ र दिपेन्द्रसिंह ऐरी र करण केसीले १–१ विकेट लिए।

तीन खेलको एकदिवसीय सिरिज १-१ को स्थितिमा रहेको छ । यसअघि पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको थियो।
त्यसअघि तीन टि ट्वान्टी सिरिज पनि भएको थियो । सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो ।
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।