भिल्लारियलको पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । दोस्रो हाफमा फाबिन्हो, लुइस डियाज र साडियो मानेले गोल गरेपछि सेमिफाइनल दोस्रो लेगमा लिभरपुल ३–२ ले विजयी रह्यो । यससँगै लिभरपुल समग्रमा ५–२ ले अगाडि रह्यो ।
भिल्लारियलको घरमा भएको खेलमा उसले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो र यससँग सेमिफाइनल टाइ २–२ को रोमाञ्चक बराबरीमा पुगेको थियो । त्यसमा बोलाय डिआ र फ्रान्सिस कोक्विलिनले गोल गरे ।
दोस्रो हाफमा लिभरपुल व्यवस्थापक योर्गन क्लोपले डियाज र डिएगो जोटालाई अगाडि खेलेका र त्यसपछि टिमले १२ मिनेटको अन्तरमा तीन गोल निकालेको थियो ।
पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पल्ट हो । अब उसले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्ने छ ।
अर्को सेमिफाइनलको दोस्रो लेग बुधबार रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ र त्यसमा सिटी ४–३ ले अगाडि छ ।