कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गतको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।
योसँगै लगातार पाँच हारको यात्रा अन्त्य गर्दै कोलकाताले प्ले अफको अंक गणीतिय सम्भावना कायमै राखेको छ। गएराति सम्पन्न खेलमा जितको लागि पछ्याएको १ सय ५३ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। कोलाकाताका रिन्कु सिंहले २३ बलमा अविजित ४२ बनाए भने ३७ बल खेलेका नितिश राणाले अविजित ४८ रन बनाए।राजस्थानका टेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र कुलदीप सेनले १–१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। राजस्थानका कप्तान सञ्जु स्यामसनले ४९ बलमा ५४ रनको योगदान दिए । शिम्रन हेटमायरले १३ बलमा अविजित २७ रन बनाए।
कोलकाताका टिम साउथीले २ तथा शिवम माभी, उमेश यादव र अनुकोल रोयले १–१ विकेट लिए।कोलकातालाई प्लेअफमा पुग्न बाँकी चार खेलमा जित निकाल्नुको साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । कोलकाताले शनिबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । राजस्थानको भने प्लेअफ सम्भावना बलियो छ। राजस्थानले पनि शनिबार नै पन्जाब किंग्ससँग खेल्नेछ।