एपीएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
वीर गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले शनिबार आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कोर्स रेकर्डसहित उपाधि जिते ।
गोपीले आफ्नै नाममा रहेको ३१ मिनेट ४४.४९ सेकेन्डको कोर्स रेकर्ड सुधार गरेका हुन् । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशस् दोस्रो र तेस्रो भए । महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाधि जितिन् ।
उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तिमान तोडेकी हुन् । एपीएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डमा दोस्रो तथा एपीएफकै विन्द्रा धन्के श्रेष्ठ ४० मिनेट २८.९५ सेकेन्डमा तेस्रो स्थानमा रहे । विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।