नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षणमा रहेकामध्ये ९ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गरेका छन् ।
प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ९ खेलाडीले अलमुताईरीविरुद्ध विद्रोह गरेका हुन् ।प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले एन्फालाई जानकारी नै नगराएर प्रशिक्षण छाडेर बाहिरिएका हुन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ ।
सुरुवातमा राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए । प्रशिक्षणको क्रममा राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै उनले प्रशिक्षकसँग गुनासो गरेका थिए ।
खेलाडीको गुनासोसँगै एन्फाले त्रिपुरेश्वरस्थित एक होटलमा खेलाडीलाई राखेको थियो । खेलाडीले समेत दशरथ रंगशालामा नियमित प्रशिक्षण गर्न थालेका थिए ।
आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दूरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए ।
चन्दले बिदा लिँदा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिँडेका छन् । इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए ।