नेकपा एमालेले बाजुरा र डोटीका सबै पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीको निर्णय अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुवै जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको हो ।
जस अनुसार बाजुराको जगन्नाथ गाउँपालिकामा काली बहादुर शाहीलाई अध्यक्षमा अघि सारिएको छ भने उपाध्यक्षमा मरुकला विष्ट उम्मेदवार बन्ने पक्का भएको छ ।
यस्तै गौमुल गाउँपालिका अध्यक्षमा हरि बहादुर रोकाया र उपाध्यक्षमा सीता थापालाई अघि सार्ने निर्णय गरेको छ । हिमाली गाउँपालिकाको अध्यक्षका लागि अज बहादुर मल्ल र उपाध्यक्षका लागि राजकला सार्कीलाई छानिएको छ। यस्तै स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाहीलाई अध्यक्षको लागि अघि सारिएको छ भने सुलोचना भण्डारी बुढालाई उपाध्यक्षमा चयन गरिएको छ ।
जिल्लाकै खप्तड छेडेदह गाउँपालिकामा अध्यक्षमा दिल बहादुर रावत र उपाध्यक्षमा स्मन देवी ओलीलाई अघि सार्दा बुढिनन्दा नगरपालिकाको नगर प्रमुखमा जनक कुमार बोहरालाई अघि सारिएको छ भने उपप्रमुखमा मनु रोकाया बि।सि।लाई चयन गरिएको छ ।
बडिमालिका नगरपालिकामा अमर खड्कालाई प्रमुख र नन्दा थापालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बुढिगङ्गा नगरपालिकामा राम बहादुर बानियालाई नगरप्रमुखमा अघि सारिएको छ भने उपप्रमुखमा माया कुवर र त्रिवेणी नगरपालिकाको नगर प्रमुखमा मोतिसिह बुढा छन् भने उपप्रमुखमा पार्वती देवी विष्टको नाम अघि सारिएको छ ।
यस्तै डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासीलाई अघि सारिएको छ । यस नगरपालिकाको उपप्रमुखमा रुपा कठायत उम्मेदवार बन्ने पक्का भएको छ । शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ललाई चयन गरिएको छ ।
यस्तै, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण कुमार कठायत र उपाध्यक्षमा शारदा साउँदलाई छानिएको छ । बढीकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ति र उपाध्यक्षमा सपना सिराडीलाई चयन गरिएको छ ।
आदर्श गाउँपालिकाको उपाध्यक्षमा जानकी खड्का र बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु मल्ल बमलाई चयन गरिएको छ ।अन्य पाँच पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो ।
जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष बिष्नादेवी सिंह, केआई सिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवर सर्वसम्मत भएका थिए।
यस्तै बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा र आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वलीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको थियो ।