नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिवार भएको फाईनलमा विभागीय नेपाल एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो।
वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।
पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन् ।
उनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भइन् । उनीहरूले जनही १० हजार सहित ट्रफी पाएका छन् ।
विजयी खेलाडीहरूलाई एक कार्यक्रमबाट बिच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दिर्घवहादुर सोडारी रहेका थिए ।
विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह, ओलम्पीयन दीपक विष्ट लगायतले पुरस्कार वितरण गरे ।
वैशाख ०३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता शनिवार राति १० बजे सम्पन्न भएको थियो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद् रहेको थियो ।