नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक शुक्रबार बस्दै छ। करिब तीन वर्षपछि बस्न लागेको बैठकमा समसामयिक खेलकुद गतिविधि सहित नवौं राष्ट्रिय खेलकुद र एसियन गेम्सका विषय मुख्य एजेन्डाका रुपमा रहने छन्।
अदालतको गोल चक्करबाट मुक्त भएपछि राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बोर्ड बैठक शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन्। बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने छ।
पछिल्लो पटक २०७६ साल बैशाखको पहिलो साता नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनमा राखेपको बोर्ड बैठक बसेको थियो।
तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अनुपस्थितिमा सो बैठकको अध्यक्षता तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाले गरेका थिए। सोही बैठकले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २०७७ सालमा आयोजना गर्ने निर्णय गरेपनि २ वर्ष बित्न लाग्दा पनि नवौं राष्ट्रिय खेलकुद अनिश्चितता कायम छ।