ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका राजपुरा पछाईले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । मंगलबार धनगढीमा भएको ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८’ मा आफ्नो प्रतिस्पर्धीलाई पछाडि पारेर दुवै जनाले उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
उत्कृष्ट खेलाडी विधामा पुरुषतर्फ प्रिन्स, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा मनोनयनमा परेका थिए । यसैगरी, महिलातर्फ भलिबलका सरस्वती चौधरी, एथ्लेटिक्सका राजपुरा, फुटबलका उषा नाथ मनोनयनमा परेका थिए । अवार्ड विजेता दुवै जनाले जनही ३५/३५ हजार रुपैयाँ पनि हात पारेका छन् ।
अवार्ड विजेता प्रिन्स ब्याडमिन्टनमा जुनियरतर्फ विश्व वरियतामा पहिलो नम्बरमा छन् । उनले विभिन्न प्रतियोगितामा पदक पनि जितेका छन् । यसैगरी, राजपुराले भारतको नागाल्याण्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् । उनले नेपालमा पनि विभिन्न प्रतियोगितामा पदक जितेकी छन् । उत्कृष्ट खेलाडीलाई पुरुषतर्फ काठमाण्डौंको मास ह्युम रिसोर्स प्रालि र महिलातर्फ वनदेवी युवा क्लबले प्रायोजन गरेको थियो ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबालका जगदीश भट्टले जितेका छन् । उनले बक्सिङका डम्बरदत्त भट्ट र फुटबलका ललित चन्दलाई पछि पारेर अवार्ड जितेका हुने । यो अवार्डको पुरस्कारराशि ३० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट प्रशिक्षक अवार्डलाई सारथी अस्पतालले प्रायोजन गरेको थियो ।
यसैगरी, फुटबल प्रशिक्षक लालबहादुर खड्कालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई २५ हजार रुपैयाँ पुरस्कारराशिको अवार्ड प्रदान गरिएको हो । धनगढीका खड्काले आफ्नो जीवनको महत्वपूर्ण समय फुटबल प्रशिक्षणमा खर्चेका छन् । उनको प्रशिक्षणमा सुदूरपश्चिमले धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबलमा स्वर्ण पद्क जितेको थियो । लाइफटाइम एचिभमेन्ट अवार्डलाई न्यू सिटी पोलिक्लिनीकले प्रायोजन गरेको थियो ।
यस्तै, क्रिकेट प्रशिक्षण स्वर्गीय अर्जुन खड्कालाई स्पेशल अवार्ड प्रदान गरिएको छ । क्रिकेट खेलको विकासमा उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई स्पेशल अवार्ड प्रदान गरिएको हो । स्वर्गीय प्रशिक्षक खड्काका श्रीमती निलमलाई सो अवार्ड हस्तान्तरण गरिएको छ । स्पेशल अवार्डको पुरस्कारराशि २५ हजार रहेको छ । यो अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड राजधानी डेन्टल केयरले प्रायोजन गरेको थियो ।
वर्ष युवा खेलाडी अवार्ड फुटबलकी चन्द्रा भण्डारीले जितेकी छन् । यो अवार्डको पुरस्कारराशि २५ हजार रहेको छ । यो अवार्डका लागि चन्द्रासहित क्रिकेटका लोकेश बम, भलिबलका विशाल भण्डारी मनोनयनमा परेका थिए । वर्ष युवा खेलाडी अवार्डलाई निसर्ग अस्पातल प्रालिले प्रायोजन गरेको थियो ।
यस्तै, सुदूरपश्चिम आइकन महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जितेकी छन् । यो विधाको मनोनयमा क्रिकेटकी कविता कुँवर, तेक्वान्दोकी गीता कठायत पनि परेका थिए । सुदूरपश्चिम आइकन महिला अवार्डलाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको थियो । सोही विधाको पुरुषतर्फको अवार्ड फुटबलका कुवेर सिंहले जितेका छन् । यो विधामा क्रिकेटका अर्जुन साउँद, भारोत्तोलनका अशोक भण्डारी पनि मनोनयनमा परेका थिए । मायामेट्रो अस्पतालले सुदूरपश्चिम आइकन पुरुष विधालाई प्रायोजन गरेको थियो । सुदूरपश्चिम आइकन विधाको पुरस्कारराशि २०/२० हजार रुपैयाँ रहेको छ ।
खेलकुद पत्रकार मञ्च कैलालीले विगत वर्षदेखि नै सुदूरपश्चिम स्पोर्ट्स अवार्डको आयोजना गर्दै आएको छ । यो तेस्रो संस्करणको अवार्ड हो । आगामी वर्ष अझै व्यवस्थित तरिकाले अवार्ड आयोजना गर्ने मञ्चका अध्यक्ष सीताराम ओझाले बताए । मञ्चले आठ विधामा अवार्ड वितरण गरेको छ ।
यसैगरी, कार्यक्रममा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले यस्ता अवार्ड राज्यले गर्नु पर्ने बताए । उनले अवार्डले खेलाडीलाई प्रोत्साहन गर्ने बताए ।
अवार्डको मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम खेलकुद परिषद् र सहप्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको थियो । सुदूरपश्चिममाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको अवार्डलाई ठाकुर एग्रो इण्डस्ट्रिज, केल्मी, नवजीवन सहकारी संस्थाले सहप्रायोजन गरेका थिए । अवार्डमा गायक प्रमोद खरेल र राजाराजेन्द्रले आ–आफ्नो प्रस्तुति दिएका थिए ।