नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले रौतहट मौलापुरको मर्यादपुरमा भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
मौलापुर नगरपालिकाको मर्यादपुर निवासी शुम्भनाथ तिवारी, उनको भाई द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारीमाथि ज्यानमार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता साहले दोषीलाई स्थानीय प्रहरी प्रशासनले कारवाही नगर्नू आपतीजनक बिषय भएको जनाएका छन् ।
‘ज्यान मार्ने उद्देश्यले मर्यादपुरमा पटक पटक सर्वसाधारण व्यक्तिहरुमाथि सांघातिक हमलाको घटना दोहरी रहदा पनि स्थानीय प्रहरी–प्रशासनले कुनै ठोस कदम चाल्न नसक्नु खेद/आपत्तिजनक विषय हो’ नेता साहले भने, ‘आजको २१औं शताब्दीमा पनि लोकतन्त्र एवं कानूनी राज्यको यसरी खुलेआम उपहास उड्उने घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न दोषी–अपराधीहरु जोसुकै भएतापनि निजलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न गृह प्रशासनसंग जोडदार माग गर्दै घटनाबाट पीडि़त घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।’
यसरी भएको थियो घटना
मौलापुर नगरपालिका अन्तर्गत पर्ने मर्यादपुर गाउँमा पुरानो रिसिइवीमा तिवारी परिवारमाथि सोमवार वेलुकी केही व्यक्तिहरुको समुहले साँघातिक हमला गर्दा ३ जना गम्भीर घाईते भएका थिए ।
रौतहटको मौलापुर नगरपालिका मर्यादपुर गाउँ निवासी शम्भूनाथ तिवारी, द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारी माथि सोही गाउँका केही मानिसहरुले ज्यान मार्ने उद्देश्यबाट साँघातिक आक्रमण गरेका हुन् ।
साँघातिक आक्रमणमा परेर गम्भीर घाईते भएको तिनै जनालाई मौलापुरको अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पुरानो रिसिइवीको कारण पटक पटक उनीहरुको पञ्चायती भएको, मौलापुर नगरपालिकाको कार्यालयमा समेत मिलाउने प्रयास गरियो तर एक्कासी हिजो वेलुकी तिवारी परिवार माथि अर्को पक्षद्धारा साँघातिक आक्रमण गरिएको छ ।
साँघातिक आक्रमण भएको खवर प्राप्त हुना साथ त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको रौतहट प्रहरीका एसपी विनोद पोखरेलले बताए ।
घटनामा संलग्न २ जना व्यक्तिलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको एसपी पोखरेलले बताए । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि कार्य भईरहेको बताउदै उनले सो घटनाको अनुसन्धान कार्य जारी रहेको हुँदा अन्य कुराहरु खुल्दै जाने बताए ।
गम्भीर घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साह आफै अस्पतालमा पुगेर चिकित्सकलाई उपचारमा कुनै कमी नराख्न निर्देशन दिदै यस प्रकारको जघन्य अपराध गर्ने अपराधीहरुलाई कडा भन्दा कडा कानुनी कारवाही हुनुपर्नेमा जोड दिइन् ।