जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।
जसपा पार्टी परित्याग गरि उनी माओवादीमा फर्किएमा हुन । २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट उनी माओवादी पार्टीबाटै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
पछि उनी माओवादी पार्टी परित्याग गरेर डा. बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपामा पुगेका थिए ।
यसैगरी, मुक्त कमैया अगुवासमेत रहेका कैलालीका जसपा नेता पशुपति चौधरी पनि माओवादीमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै जनालाई आज काठमाण्डौंमा पार्टी प्रवेश गराउनुका साथै स्वागत गरेका छन् ।
कैलालीलाई ०६४ सालकै अवस्थामा फर्काउँछौ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कैलाली जिल्लालाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका छन् ।
जसपाबाट सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुराना माओवादीहरू एक जुट हुन थालेकाले कैलाली बलियो हुने बताए। पहिलो संविधान सभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी जसपाबाट माओवादी प्रवेश गरेपछि स्थानीयतहमा समेत राम्रो प्रभाव पर्ने प्रचण्डले बताए।
निर्वाचनको ब्याटल जित्ने बेलामा चौधरीको पार्टी प्रवेशले सकारात्मक सन्देश जाने बताए। यस्तै एमालेसँग एकता गर्दा आफूले धेरै चिज बुझेको प्रचण्डले बताए।‘एमाले के चिज हो ? बुझ्ने मौका पाएको छ। मेरो तीन वर्षको अनुभव भयो र संगै बसेर अनुभव गरे । सबै एक जुट भएर ब्याटल जित्नु पर्ने छ’ प्रचण्डले भने।