अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि-२० आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो ।
यसै साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि-२० आई सिरिजमा च्याम्पियन बनेपछि नेपालको विश्व वरियता पनि सुधार भएको हो । नेपालले पछिल्ला १० टि-२० आई खेल मध्य ९ खेलमा जित हात पारेको छ । त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले पाँच खेलमा नै जित हात पारेको थियो ।
दुई महिना अघि ओमानमा सम्पन्न आइसिसी टि-२० विश्वकप छनोट ए मा नेपालले खेलेका ५ मध्य ४ खेलमा जित निकालेको थियो । समूह बी मा तीन खेलमा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपनि तेस्रो स्थानको खेलमा पुन ओमानलाई हराएको थियो ।
नेपालको ३२ खेलमा ६ हजार ४८ प्वाइन्ट र १ सय ८९ रेटिङ अंक छ । भारत टि-२० आई वरियतामा शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ । २०२१ को टि-२० विश्वकप च्याम्पियन अष्ट्रेलिया भने छैटौं स्थानमा छ । नेपाल भन्दापछि युएई १३ औं, स्कटल्यान्ड १४ औं र आयरल्यान्ड १५ औं स्थानमा छन् ।
ओडिआई वरियतामा भने नेपाल १८ औं स्थानमा छ । ओडिआई वरियता न्युजिल्यान्ड शीर्षस्थानमा छ । टेस्टमा भने अष्ट्रेलिया शीर्षस्थानमा छ ।