वीरगञ्जमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप नेपाल २०७८ हुने भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले चैत २५ र २६ गते प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका तेक्वान्दो खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा १४ औं साग गेम र इन्डोनेशियामा हुन गइरहेको १९ औं एशियन गेमलाई लक्षित गरेर प्रतियोगिता राखिएको जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुषतर्फ अण्डर ४१ देखि ७४ र महिलातर्फ अन्डर ४१ देखि ५७ किलो तौल समूहमा खेलहरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद ५० हजार, २५ हजार र १५ हजार पुरस्कार दिइनेछ भने वेष्ट फाइटर एक महिला र एक पुरुषलाई २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
नेपाल तेक्वान्दो संघका प्राविधिकसँगको समन्वयमा सञ्चालन गरिने प्रतियोगितामा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको पर्सा जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।