त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।
२२४ रनको लक्ष्य लिएर मैदान उत्रिएको मलेसियाले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।
मलेसियाका विरनदीप सिंहले ४७, अहमद फैज मोहम्मद नूरले ३३, ऐनूल हाफिज यतिमले १८ र सैयद अजिज सैयदले १७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानले ३, दिपेन्द्र ऐरी र कमलसिंह ऐरीले २–२ तथा कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए ।
ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको दिपेन्द्र प्लेयर अफ दी म्याच भए ।
नेपालको ब्याटिङ
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५७ बलमा ११० रन बनाए । यो नेपाली ब्याट्सम्यानले टी २० प्रहार गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो । उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए ।
दिपेन्द्र नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए ।
त्यस्तै, रोहितकुमार पौडेलले ५१, आशिफ शेखले १८, आदिल आलमले १४, कुशल भुर्तेलले १२ रन बनाए । रोहितले टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरे ।
मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।
नेपाल यसअघि नै सिरिजको फाइनल पुगेको थियो । आजको हारसँगै मलेसियाले फाइनलमा स्थान बनाउन असफल रह्यो । पपुवा न्युगिनी (पीएनजी) रन रेटका आधारमा फाइनलमा पुगेको छ । फाइनल खेल नेपाल र पीएजनीबीच सोमबार हुनेछ ।
लगातार चार खेल जितेको नेपाल ८ अंक सहित शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले हराएको थियो ।