त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाउँदै २२३ रन बनायो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउन ५७ बलमा १०७ रन बनाए । यो नेपाली ब्याट्सम्यानले टी २० प्रहार गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो । उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए ।
दिपेन्द्र नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए ।
त्यस्तै, रोहितकुमार पौडेलले ५१, आशिफ शेखले १८, आदिल आलमले १४, कुशल भुर्तेलले १२ रन बनाए । रोहितले टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरे ।
मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।
मलेसियाविरुद्ध आज नेपालले सोमपाल कामीलाई आराम दिँदै कमलसिंह ऐरीलाई मौका दिइएको छ ।
यसअघिनै फाइनलमा स्थान बनाएको नेपाल जितको लय कायम राख्ने योजनामा छ । यता मलेसिया नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । यदि यस खेलमा मलेसिया पराजित भयो भने पपुवा न्युगिनी (पीएनजी) रन रेटका आधारमा फाइनलमा पुग्नेछ ।
लगातार तीन खेल जितेको नेपाल ६ अंक सहित शीर्षस्थानमा छ । मलेसिया र पपुवा न्युगिनीको दुई दुई अंक छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले हराएको थियो ।
मलेसियाले भने पीएनजीलाई पहिलो खेलमा ८ रनले हराएको थियो । दोस्रो खेलमा मलेसिया पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । फाइनल खेल सोमबार हुनेछ ।
नेपालको प्लेइङ ११:
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।