नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी सेना बोलाएर कांग्रेसले नेपालीको टाउको काट्न लगाएको आरोप लगाएका छन् ।
शुक्रबार एमाले निकट अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।
उनले शहीद भीमदत्त पन्तलगायतलाई विदेशी सेना बोलाएर कांग्रेसले टाउको काट्न लगाएको आरोप लगाए ।
ओलीले भने, ‘भन्न त त्यति मजा लाग्दैन । डोटीमा गिरफ्तार गरेर देशभक्त भीमदत्त पन्तको नेपाली कांग्रेसले भारतीय सेना बोलाएर टाउको काट्न लगायो ।’
ओलीले नेपाली कांग्रेस जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्ने भन्दै आलोचना गरे । उनले भने, ‘कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । शत्रुसँग घाँटी जोड्ने । बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्छ । थोत्रा र पत्रु तत्वसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो ।’