प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान भएका छन् ।
त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायत पनि विमानस्थल पुगेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ प्रस्थान भएका हुन् । उनी भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
प्रधानमन्त्री देउवासंगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा गएका छन् ।
यस्तो छ भ्रमण तालिकाः
– शुक्रबार दिउसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने ।
– शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा शिष्टाचार भेट गर्ने ।
— शुक्रबार ५ बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने ।
— शुक्रबार साँझै नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने ।
– शनिबार बिहान १०ः४० बजे राजघाट जाने । त्यसपछि सोही दिन ११ः १० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।
– मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिने ।
– शनिबार नै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने ।
– आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने । वाराणासीबाट पुनः नयाँ दिल्ली आएर ४ः१५ बजे स्वदेश फर्कने ।