चार दिनदेखि आकाशमा लागेको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आन्तरिक उडान प्रभावित बनेको छ ।
विमानस्थलका अनुसार भिजिबिलिटी अपुग हुँदा भिएफआर प्रणाली जडित जहाजहरुबाट बिहानैदेखि उडान हुन नसकेको जनाएको छ ।
भिएफआरबाट उडान गर्न कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी हुनुपर्ने हुन्छ । तर बिहानैदेखि भिजिबिलिटी तीन हजार मिटर मात्र रहेपछि देशैभरका ३५ वटामध्ये अन्तर्राष्ट्रिय उडान र आइएफआर प्रणालीको उडान मात्र भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
बाक्लो तुवाँलोका कारण बिहान ६ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने भिएफआर प्रणालीका आन्तरिक उडान हुनसकेको छैन । काठमाडौं विमानस्थलले शुक्रबार दुई सयभन्दा बढी आन्तरिक नियमित उडान तोकेको छ ।
हाल नेपालमा यती, बुद्ध, श्री, सौर्य, नेपाल एअरलाइन्स, गुण, तारा, समिट र सीता एयरलाइन्सले दैनिक उडान भर्दै आएका छन् ।
यता ३० विमान कम्पनीले दैनिक ६० वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने गरेको विमानस्थलको तथ्याङ्क छ ।