संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फुल’का रूपमा धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन् गर्छन् । तर, अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन ।
अप्रिल फुल खासगरी क्यानडा, न्युजिल्याण्ड, वेलायत, अष्ट्रेलिया, इटाली लगायतका मुलुकमा मनाउने प्रचलन छ । विशेषगरी बालबालिका र युवा पुस्तामाझ बढी लोकप्रिय अप्रिल फुल एकआपसमा ठट्टा, हाँसी(मजाक, व्यंग्य गर्न सबै वर्गलाई लोभ्याउने गरेको छ । पछिल्ला वर्षहरूमा आयातीत संस्कृतिका रूपमा नेपाली युवा पुस्तामाझ पनि अप्रिल फुल लोकप्रिय हुँदै गएको छ।
सन् १५८२ मा फ्रान्समा मार्च २५ देखि अप्रिल १ तारिखसम्मको समयावधिलाई नयाँ वर्ष सप्ताहका रूपमा उल्लेख गरिएको जुलियन क्यालेन्डरलाई विस्थापित गरेर जनवरी एकलाई नयाँ वर्ष मान्ने गरी ग्रेगरिएन क्यालेन्डर प्रचलनमा आएपछि अप्रिलको पहिलो दिनलाई मूर्ख दिवसको रूपमा मनाउन थालिएको हो ।
अप्रिलको सट्टा जनवरीको पहिलो दिन नयाँ वर्ष मनाउन सुरु भइसक्दासमेत जुलियन क्यालेन्डर स्वीकार गर्नेहरूले अप्रिलको पहिलो दिनलाई नै नयाँ वर्ष मनाउन थालेपछि ग्रेगरियनहरूले उनीहरूलाई परम्परावादी भनेर जिस्क्याउन थालेको र यसैबाट मूर्ख दिवस सुरु भएको किंवदन्ती छ ।