बाढीपहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ  अन्तिम  चरणमा  पुगेसँगै सुरुङ परीक्षणका  लागि  पानी  पठाउन  सुरु  गरिएको  आयोजनाले जनाएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको  मुख्य  प्रवेशमा  क्षमापूजा  गरेपछि  परीक्षणका लागि पानी पठाइएको मेलम्ची  खानेपानी  विकास  समितिका  सिनियर  डिभिजन  इन्जिनियर  माधवप्रसाद  न्यौपानेले  जानकारी दिए ।
उनले आयोजनाको मुख्य ढोका खोलिएको र  सफाइको  काम  अन्तिम  चरणमा  पुगेकाले  परीक्षणका  लागि  पानी  पठाउन  थालिएको  जानकारी दिए ।
गएको असार १ र साउन  १७  गतेको  बाढीका कारण  प्रमुखद्वार बफर ड्यामदेखि  अम्बाथानसम्मको ८ सय ५  मिटर  सुरुङ  गेग्य्रानसहितको  लेदोले  पुरेको थियो । क्षतिग्रस्त  ढोकाहरू  खुला  गरी  सुरुङभित्र  जमेको  लेदो  परीक्षणका  क्रममा  पठाएको  पानीबाटै  सफाइ  गरिने  आयोजनाले जनाएको छ ।
सरकारले  क्षतिग्रस्त  मेलम्ची  खानेपानी आयोजना सफाइ तथा मर्मत गरी  यही चैत मसान्तभित्र काठमाण्डौको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।
आयोजनाको  सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा  गर्न  अन्य  तीनवटा  नेपाली  सहायक  कम्पनीमार्फत  २४  घण्टा  नै  काम  गरिरहेको  छ ।